04:20:00 GMT
News »
३० वर्षपछि फेसबुकले गरायो मिलन

ओखलढुङ्गा, घरपरिवारबाट झण्डै ३० वर्ष सम्पर्कविहीन भएका बलखु गाविस – ७ का भरत धमला फेसबुकको माध्यमबाट परिवारको सम्पर्कमा आउनु भएको छ ।� धमला घर छाडेर हिँडेको २७ वर्षपछि फेसबुककै सहाराले आफन्तको सम्पर्कमा आउनु भएको हो । बलखुस्थित मामा घरमा जन्मेर १८ वर्षसम्म त्यहीँ हुर्किएका धमला २०४२ सालमा घर छाडेर हिडनु भएको थियो ।

आफन्त तथा घर परिवारले समेत माया मारिसकेका धमला एकहप्ता अघि मात्रै मावलीका भाइ कुमार लुइँटेलसँग फेसबुकमार्फत सम्पर्क भएर घर परिवारसँगको सम्पर्कमा आउनु भएको हो ।

फेसबुकमा भेट्दा पहिलो पटक त धमलालाई उहाँका आफन्तले नै चिनेनन् मावली भाइ लुइँटेलको फेसबुकमा ‘म भरत धमला दाइ हुँ’ भनेर आफूलाई चिनाए पनि सुरुमा नचिनेको लुइँटेलले बताउनुभयो । ‘फेसबुकबाट परिचय दिएका धमलालाई पहिला त चिन्ने कुरै भएन, पछि कुराकानी गर्दै जाँदा आफ्नै दाइ पो हुनुहुँदोरहेछ,’ लुइँटेलले भन्नुभयो ‘विसं २०२४ मा मामाघरमै जन्मिएका धमलाको अठार वर्षको उमेरमा घर छाडेर भागेदेखि नै अत्तोपत्तो थिएन, कहाँबाट चिनेर एक्कासि फेसबुकमा आइपुगे म आफैँ अचम्मित छु।’

फेसबुकमा साथी बनेको ६ महिनापछि उहाँले फेसबुकबाटै आफ्नो मोबाइल नम्बर पत्तो लगाएर टेलिफोनबाट आफ्नो परिचय दिएको र त्यसको दुई महिनापछि घर आएको लुइँटेलले जानकारी दिनुभयो । आशा मारिसकेको छोरो एक्कासि घर आइपुग्दा उहाँका बुबा जयराज र आमा खडमायाको खुसीको सीमा नै रहेन।�
‘हामीले त बिर्सिसकेका थियौं’ आमा खडमायाले भन्नुभयो ‘आस मारिसकेको छोराको अनुहार देख्न पाउँदा औधि खुसी छु।’ छैन भनेको मान्छे अचानक घर आइपुग्दा घर परिवार मात्र होइन भरतको गाउँमै खुसी छाएको लुइँटेलले बताउनुभयो ।

यति लामो समयसम्म घर परिवारसँग सम्पर्कमा नआएका कारण परिवारले पनि त्यति चासो नदिएकोजस्तो लागेर सम्पर्कमा आउन नचाहेको बताउँदै धमलाले भारतको मुम्बइस्थित एक जिम क्लबमा काम गरेर जीवन गुजारा गरेको जानकारी दिनुभयो । जिम क्लबमा सामान्य तलबमा जागिर खाएर बसेका धमला घर आउने खर्च नभएर पनि सम्पर्कभन्दा बाहिर रहेको हुनसक्ने स्थानीयवासीको भनाइ छ। घर छाडेको यतिका वर्षपछि नेपालस्थित आफ्नो घर फर्कन नचाहने दाइ भरतलाई धेरै आग्रहपछि घर बोलाउन सफल भएको लुइँटेलले बताउनुभयो।

लामो समयसम्म हराएर भेटिएका उहाँलाई नेपालमै बस्ने व्यवस्था मिलाइदिन सुनसरीको तरहरामा मावलीले केही जग्गासमेत किनिदिएका छन्। धमलाले अब आफू जन्मेको गाउँमै बस्ने योजना बनाएको बताउनुभयो ।

- रासस